Pokharapatra National Daily

जनप्रिय क्याम्पसलाई जग्गा उपलब्ध गराउन पहल गर्नेछुः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।
क्याम्पसद्वारा आइतबार आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै वडामा रहेको गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्दै आएको क्याम्पसको सिनेटरका हैषियतले पनि आवश्यक जग्गा उपलब्ध गराउँछु । पदमा भए पनि नभएपनि क्याम्पसलाई सहयोग गुर्न मेरो दायित्व हो ।’ उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी संघ सरकारको क्याबिनेटसम्म पहल गर्ने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मन्त्री थापालाई स्वागत सम्मान गर्दै समुदायस्तरबाट स्थापना भएको क्याम्पस राष्ट्रिय स्तरको बनेको छ । तर विद्यार्थीको चापसँगै पूर्वाधार विकास र जग्गा अभावको समस्या रहेको ध्यानाकर्षण गराए । पूर्व कार्यवाहाक अध्यक्ष परशुराम बरालले क्याम्पसको ३३ वर्षको सकारात्मक परिणामको चर्चा गर्दै निर्वाहमुखी व्यवस्थापनले बदलिँदो समयमा क्याम्पस सञ्चालनका लागि जग्गा र भौतिक पूर्वाधार आवश्यक भएकाले व्यवहारिक रूपमा हेरिदिन आग्रह गरे ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जानकारी दिँदै भने, प्रातः र दिवा सत्रका १३ वटा शैक्षिक कार्यक्रममा ५ हजार बढी विद्यार्थीको आबद्धता रहेको छ । देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट सर्वोकृष्ट क्याम्पसको पुरस्कार पाएको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परी दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।
खड्काले स्वायत्त कार्यक्रम सञ्चालन गरी मानित विश्वविद्यालय बन्ने प्रक्रियामा क्याम्पस अगाडि बढेको हुँदा प्रदेश सरकारको सहयोग रहेमा चाहे जस्तो जनशक्ति उत्पादन गर्न सक्षम भएको दाबी गरे । उपप्रशासक एकनारायण अर्यालले नेपालमै पहिलो पटक पर्यटनको राजधानी पोखरामा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (विएमटिम) विषय पढाइ भएकाले बजारलाई चाहिने जनशक्ति उत्पादन र प्राविधिक शिक्षामा क्याम्पस प्रतिवद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस्