Pokharapatra National Daily

सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले सञ्चालन गरेको श्रीपति समाज सेवा पुरस्कार–२०८१ डा. रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
डा. रुइत म्यागासेसे पुरस्कार विजेता हुन । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष अध्यक्ष फणिन्द्रराज कोइरालाले पुरस्कारको २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मानपत्र र पदक प्रदान गरिने जानकारी दिए । श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार छनोट समितिले सिफारिस गरेको पुरस्कार घोषणा गरेको हो । अध्यक्ष कोइरालाको संयोजकत्वमा गठित छनोट समितिमा प्राडा दीलबहादुर क्षेत्री, प्राडा विश्वकल्याण पराजुली, गेहेन्द्रेश्वर कोइराला, अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र विमला भण्डारी सदस्य थिए । पुरस्कार गुठीको ३२ औं वार्षिक साधारणसभामा प्रदान गरिने अध्यक्ष कोइरालाले बताए ।
सन्दुकका पिता सोनाम र माता केसाङ रुइत हुन् । विसं २०११ मा जन्मिएका रुइत दृष्टिका देवता (गड अफ साइट) का रुपमा चिनिन्छन् । कम लागतमा मोतियाविन्दुको उपचारका लागि चिकित्सा पद्धति रुइतेक्तोमिताका सुरुवातकर्ता डा. रुइतले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतियाविन्दुको शल्यक्रिया गरेका छन् । उनले बहराइन सरकारबाट दृष्टिका सम्वाहक उपाधिसहित इशा अवार्ड पाएका छन् । डा. रुइतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्यान्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन् । यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।
गुठीले गत वर्ष घोषणा गरेको पत्रकारितातर्फको पुरस्कार पत्रकार नारायण कार्कीलाई यो वर्ष अर्पण गरिने जानकारी दिएको छ । यस्तै गुठीले श्रीपति कोइराला को २१७ औं जयन्तीको अवसरमा हेमजामा रहेको मानव सेवा आश्रममा फलफुल पनि वितरण गरेको थियो ।पुरस्कार घोषणा कार्यक्रममा गुठीका उपाध्यक्ष गणेशप्रसाद कोइराला, मोहनराज कोइराला, निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइराला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, गुठीका सचिव नवराज कोइराला लगायतले स्व. श्रीपति कोइरालाको शैक्षिक, स्वास्थ्य, सामाजिक योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस्