Pokharapatra National Daily

मदरल्याण्ड माविका १० विद्यार्थी सहित कास्कीका २१ विद्यार्थीले ल्याए ४ जिपिए

बिहीबार सार्बजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० मा कास्कीबाट २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
कास्कीका ९ वटा विद्यालयबाट २१ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएका शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका इकाई प्रमुख लोकनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार कास्कीका ९ वटा बिद्यालयहरु मध्य मदरल्याण्ड माविका १० जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल हुनु भएको हो भने डिज्निल्याण्ड एकेडेमीबाट ३ जनाले समेत ४ जिपिए ल्याउनु भएको छ । त्यसै गरी गण्डकी बोर्डिङबाट २, एसओएस हर्मन माइनर स्कुलबाट १, बालोदय बोर्डिङ स्कुलबाट १, न्याश्नल इन्भेन्टिभबाट १, सृजना बोर्डिङ स्कुलबाट १, शान्ति निकेतन बोर्डिङ स्कुल र सैनिक आवासिय माविबाट १ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएको इकाई प्रमुख आचार्यले जनाउनुभयो ।
यस वर्ष सार्वजनिक भएको एसईइमा कास्कीमा ३.६ देखि ४ जिपिए भन्दा तल ल्याउने १ हजार ५ सय ७५ जना बिद्यार्थीहरु हुनुहुन्छ । त्यसै गरी कास्कीमा ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने १ हजार ५ सय ७७ जना विद्यार्थीहरु हुनुहुन्छ । २.८ देखि ३.२ जिपिए भन्दा तल ल्याउने २ हजार २ सय २६ जना विद्यार्थीहरु रहेको इकाई प्रमुख आचार्यले उल्लेख गर्नु भयो । कास्कीबाट गत बर्ष २ सय १९ जनाले प्राविधिक धारबाट एसईईमा सहभागी मध्य ९८ जना एनजी बाँकी १ सय २१ जना बिद्यार्थीहरु उत्तीर्ण हुनु भएको उहाँले जनाउनु भयो । साधारण धार तर्फ कस्कीबाट ७०.९१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको कार्यालयले जनाएको छ । कास्कीबाट गत वर्ष एसईईमा ९ हजार ९ सय ८० जना विद्यार्थीहरु सहभागी हुनु भएको थियो ।
पोखरा मासवारमा रहेको मदरल्याण्डको उक्त नतिजा सम्भवत एकै विद्यालयबाट ४ जिपिए ल्याउने देशकै उत्कृष्ट मध्यमा पर्ने विद्यालयका प्रिन्सिपल नारायण बरालले दाबी गर्नुभयो । यस वर्ष एसईई दिएका १ सय ४६ जना विद्यार्थीहरु मध्य १० जना ४ जिपिए सहित १ सय २८ जना ३.६ देखि ४ जिपिएसम्म ल्याउनु भएको छ भने बाँकी १८ जनाले भने ३.२ देखि ३.६ जिपिएसम्म ल्याउनु भएको प्रिन्सिपल बरालले बताउनुभयो । सबै भन्दा धेरै १० जनाको यसपाली ४ जिपिए आएकोमा विद्यालय परिवार सहित कास्की क्षेत्रकै निकै राम्रो बिषय भएको उहाँले जनाउनु भयो ।
मदरल्याण्डबाट ४ जिपिए ल्याउने बिद्यार्थीहरुमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी रहनु भएको छ ।
पोखराको डिज्निल्याण्ड एकेडेमीकी सृष्टी भण्डारी, स्मृति लामिछाने, सृष्टीना पौडेलले ४ जिपि ल्याउनु भएको छ भने गण्डकी बोर्डिङबाट आयुष पराजुली र ओजश्वि शर्माले समेत ४ जिपिए ल्याउनु भएको हो । त्यस्तै न्यासनल इन्भेन्टिभ स्कुलका विद्यार्थी विशाल खत्री, बालोदयबाट सभ्यता लामिछाने, एसओएसका शतेस सुवेदी, सृजनाका आयुष खड्का, शान्ति निकेनतकी अदिति पराजुली र सैनिक आवासिका आयुष उपाध्यायले ४ जिपिए ल्याउनु भएको हो ।
बिहीबार प्रकाशित नतिजा अनुसार नेपालभरबाट १८६ जनाले ४ जिपिए ल्याउनु भएको थियो । गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याउन सफल हुनु भएको बिद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताउनु भयो ।
मदरल्याण्डले हरेक वर्ष जसो उत्कृष्ट नतिजा ल्याउन थालेको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत ३ जना विद्यार्थीले नेपाल टप गर्नुभएको थियो ।
व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उहाँहरुलाई जनही २ लाख सहित पुरस्कृत गरेको थियो ।

प्रतिकृया दिनुहोस्