Pokharapatra National Daily

मुख्यमन्त्री पाण्डेलाई दोश्रो पटक विश्वासको मत

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्य देवकोटालाई माओवादीले कारबाही गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्नु भएको छ ।
मुख्यमन्त्री पाण्डेले सदनमा विश्वास मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो भने बाँकी ४ जना सांसद पाण्डेले आफ्नो पक्षमा ल्याउनु भएको थियो । दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिनु भएको थियो भने थप दुई सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) र फणिन्द्र देवकोटाकोले समेत साथ दिनु भएको हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकै पार्टीका देवकोटा गत चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा जित्नु भएको थियो । तर यसपटक देवकोटाले पाण्डेको पक्षमा मत दिनु भएको हो । देवकोटाले फ्लेर क्रस गरे पछि प्रमुख प्रतिपक्ष दल सहित प्रतिपक्ष दलले दलीय व्यबस्था कायम गर्न माग गर्दै नारा बाजि गर्नु भएको थियो । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । गण्डकीमा एमालेको २२ र माओवादी केन्द्रको सभामुख सहित ८ सांसद रहनु भएको छ । गण्डकी प्रदेश सरकार नीति कार्यक्रम र बजेटको अन्तिम तयारीमा छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी ब्यवस्था रहेको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसैगरी फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ । संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उहाँलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । “प्रकृया पूरा भएपछि सभामुखलाई कारबाहीको सूचना दिन्छौँ”, उहाँले भन्नुभयो, “संसदीय दलको निर्णय विपरीतको क्रियाकलाप गरेपछि उहाँलाई कारबाही गर्नुपर्ने अवस्था आएको हो ।” नेपाल समाजवादी पार्टी (नेसपा)मा आबद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित हुनुभएको थियो । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा उहाँ माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा रहनुभएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनसक्ने तर जुन दलले बढी सिट प्राप्त गर्छ त्यही दलका नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ ।् यसैबीच नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्णा शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत् भएको दाबी गर्नुभएको छ । “निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसदका रुपमा प्रमाणपत्र र परिचयपत्र दिएको हो । निर्वाचन आयोगमो अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्