Pokharapatra National Daily

विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा अन्नपूर्ण आरोहण दिवस

जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवस । अन्नपूर्ण आरोहण दिवसको अवसरमा सोमबार पोखरामा प्रभात फेरी सहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो । पोखराको फिस्टेल गेट अघिदेखि सुरु भएको प्रभातफेरी अम्बोट, गौरीघाँट, बाराहीघाट हुदै बाराही खेल मैदानमा पुगेर समापन भएको उहाँले जनाउनु भयो । प्रभातफेरीमा पन्चे बाजा सहित विभिन्न जनजातिको भेषभुषा समेत प्रर्दशन गरिएको थियो । उक्त अवसरमा तीन जना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजम शेर्पा र लाक्पा डेण्डी शेर्पालाई सम्मान गरिएको छ । उक्त प्रभातफेरीमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहित विभिन्न देशका राजदुत, संयुक्त राष्टसंघीय विकास कार्यक्रम, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहितका कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पोखरा आफैमा प्रकृति, संस्कृति र सहासिक खेल गतिविधिको केन्द्रको रुपमा रहेकोले अब यहाँको दिगो पर्यटनको लागि पदमार्गहरुको खोजि तथा संरक्षण गर्न आग्रह गर्नु भयो । कोभिड पछि नेपालको पर्यटन क्षेत्र हाल विस्तारै लयमा फर्किएकोले सरकारले पर्यटन पूर्वाधार निर्माणमा लगानी गर्दै आएको उहाँले जनाउनु भयो । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले ८ हजार मिटर अग्लो हिमाल चढेर विश्व सामु नेपालको पर्यटन सहितको यहाँको पर्यटन प्रर्बद्धनमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पुराएको योगदानको उच्च प्रशंसा गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको राजधानि पोखरालाई पर्यटनको राजधानी घोषणासंगै अब यहाँ राज्य र निजी क्षेत्रले यहाँको दिगो र गुणस्तरिय पर्यटन प्रबद्र्धनमा लाग्नु पर्ने समय आएको बताउनु भयो । इजरायलका राजदुत गोडेरले नेपाल र पोखरा जस्तो शहर विश्वमा चर्चीत भएकोले उहाँको पर्यटन प्रबद्र्धनमा केही व्यबस्थापन मात्र गरेको खण्डमा धेरै पर्यटक भित्रिन सक्ने दाबी गर्नु भयो । इजरायल, वेलायत, थाइल्याण्ड, पाकिस्तान, चाइना र श्रीलंकाका गरी ६ देशका राजदुतहरु सहितको कुटनितिक नियोगका प्रतिनिधिहरुको टोलीले सोमबार पोखराको फेवातालमा डुंगा सयर गरेसंगै सराङकोटमा अध्ययन अवलोकन गर्नु भएको हो । यसैबिच सोमबार टानको नेतृत्वमा एक टोली पोखरा २२ मा फेवाताल किनार रानीवन क्षेत्रमा हाइकिङ कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु भयो । भ्यू फेवा राउण्ड फेवा भन्ने नाराका साथ निर्माण हुदै गरेको साँढे दुई घण्टाको पद मार्गको सोमबार अध्ययन अवलोकन समेत भएको टानका उपाध्यक्ष कृष्ण आचार्यले बताउनु भयो । टोलीलाई अनदुमा स्वागत गरिएको थियो ।
नेपालको पर्यटन विकासको सुरुवात भन्दै अन्नपूर्ण आरोहण भएको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा रहेका ८ हजार मीटर भन्दा अग्ला हिमालहरू मध्ये अन्नपूर्ण प्रथम हिमालको सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस् हर्जोग र लुई लचेनलले सफल आरोहण गरेको खुसियालीमा यो दिनलाई हरेक बर्ष अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिन्छ । कास्की माछापुच्छ«े गाउँपालिकाको धम्पुसदेखि अस्तामसम्म आइतबार पदयात्रा गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत कुन्दन मिश्र शर्माले बताउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले टे«किङ रुटहरुको संरक्षण गरी पोखरा क्षेत्रको दिगो पर्यटनमा लगानी गर्नुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्