Pokharapatra National Daily

विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनुभएको छ । उहाँले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख
गर्नुभयो ।
३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहका प्रमुख अतिथि भट्टले जेसीजले लैङ्गिक मुद्धालाई पनि ध्यानमा राखेर अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । ‘घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोककल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ ।’ उहाँले भन्नुभयो – ‘विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ ।’ लेडी जेसीज जस्ता सामाजिक संस्थाले महिलाहरूको नेतृत्व र क्षमतासँगै चेतना विकासमा सहयोग पुगेको प्रदेश प्रमुख भट्टको भनाई छ । उहाँले थप्नुभयो – ‘नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन पनि यसले साथ दिएको छ । लाखौँ युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै देश निर्माणमा योगदान गर्दै आएको छ ।’
जेसीज १८ देखि ४० बर्ष सम्मका जवान युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था रहेको र तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने यस संस्थाले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रदेश प्रमुख भट्टको ठम्याई छ ।
‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।’ – उहाँले भन्नुभयो ।
सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको प्रदेश प्रमुख भट्टको सुझाव छ । लेडी जेसीजले सात दिनसम्म मनाउन लागेको अभिभावक अभिमूखीकरण तथा सचेतना कार्यक्रम, वृहत निःशुल्क स्वास्थ्य शिविर, महिलाका लागि साइबर अपराधसम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि तालिम, उद्यमशीलता सौन्दर्यतासँगै खानपान सम्बन्धी तालिम, वृक्षारोपण र सरसफाई कार्यक्रमको शुभकामना पनि उहाँले दिनुभयो ।
पोखरा लेडी जेसीजकी अध्यक्ष गायत्री फुयाँल लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्