Pokharapatra National Daily

नेपालमा पठन संस्कृतिको विकास नै छैनः प्रथम राष्ट्रपति डा.यादव

नेपाल पत्रकार महासंघ कास्की शाखाले डिजिटल पुस्तकालय संचालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतको सहयोगबाट हालै निर्माण भएको उक्त पुस्तकालय शुक्रबारबाट संचालनमा आएको हो ।
नेपालका प्रथम
राष्ट्रपति डा.रामवरण यादवले शुक्रबार उक्त पुस्तकालयको उद्घाटन गर्दै नेपालमा पठन संस्कृतिको विकास गर्नु पर्ने बताउनुभयो । डिजिटल सिस्टमले गर्दा हिजोआज पुस्तकहरु पढ्ने अध्ययन गर्नु भन्दा पनि डिजिटल माध्यमबाट आवश्यक परेका वेलमा खोजी गर्ने प्रवृत्तिले गर्दा पठन संस्कृतिको विकास हुन नसकेको उहाँले दाबी गर्नु भएको हो । अहिलेको पठन संस्कृति निकै कमजोर भएको अबस्थामा नेपालकै नमुना डिजिटल पुस्तकालयको रुपमा कास्कीमा संचालन गर्नु निकै उदाहरणीय कार्य भएको संस्थापक राष्ट्रपति डा.यादवले प्रशंसा गर्नु भयो । उक्त पुस्तकालयको उद्घाटनको अवसर आफुलाई दिएकोमा महासंघलाई धन्यवाद दिदै उहाँले पुस्तकालयलाई प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिनु भयो । पुस्तकालयको राम्रोसंग फाइदा लिन सके त्यसबाट असल नागरिक उत्पादनमा थप टेवा पुग्ने उहाँको भनाई थियो । नेपालमा पठन संस्कृतिको विकास गर्न आवश्यक भएको संस्थापक राष्ट्रपति डा. यादवले आशय थियो । गण्डकी प्रदेशका सभा सदस्य एवं पूर्व मन्त्री बिन्दुकुमार थापाले पत्रकारको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले स्थापना हुन लागेको पुस्तकालयको उक्त अभियानलाई सफल पार्न सहयोग गरिएको उल्लेख गर्नु भयो । उक्त पुस्तकालय संचालन गर्न आफु मन्त्री हुँदा २५ लाख बजेट विनियोजन भएको उहाँले स्मरण गर्नु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश विष्टले काठमाण्डौंमा आफुहरुले थालनी गरेको पुस्तकालय अझै पूरा गर्न नसकेको अबस्थामा कास्कीमा उक्त अभियान सफल भएकोमा धन्यवाद दिदै यसले पत्रकार सहित पठन संस्कृतिको विकास गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहसचिव रेम बहादुर बिकले बताउनु भयो । यसैबिच, शनिबार महासंघ कास्कीको साधारण सभा हुने भएको कोषाध्यक्ष कृष्ण प्रसाद दवाडीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्