Pokharapatra National Daily

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो ।
पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै सम्पन्न भएकोले यसलाई विश्वका सोलो प्याराग्लाईडिङ गर्न चहाने खेलाडीहरुको लागि निश्चित मापदण्ड बनायर भए पनि खुल्ला गर्नु पर्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिस भट्टराईले माग गर्नु भयो । विश्वकै उत्कृष्ट १० मध्य एकमा पर्ने पोखरामा सोलो प्याराग्लाईडिङ उडान रोक्नुले पोखरा क्षेत्रको पर्यटनसंगै नेपालको राजश्व संकलनमा समेत यसले प्रत्यक्ष रुपमा असर परेको उहाँको दाबी छ । पोखरामा पर्यटनको सिजन तथा अफ्सिजनमा समेत सोलो प्याराग्लाईडिङ उडानले पर्यटकलाई आकषर्ण गर्दै आएको सन्दर्भमा विना अध्ययन र अनुसन्धान विना एउटा दुर्घटनाको बिषयलाई लियर बन्दै गर्नु उचित निर्णय नभएको अध्यक्ष भट्टराईको तर्क छ । विगत २ दशक देखि संचालन हुदै आएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिता समेत सोलो उडान स्थगित हुँदा यसले गर्दा हुन नसकेको नाले जनाएको छ । २०७९ असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ तर्फको विधामा प्रतिष्प्रर्धा गर्ने क्रममा दुर्घटना परी त्रिभुवन आर्मी क्लवका खेलाडी निसिम थापाको मृत्यु भएसंगै स्थगित भएको उक्त सोलो उडान हालसम्म संचालन हुन नसक्दा यसबाट धेरै असर परेको व्यवसायीहरुले गुनासो गर्नु भएको हो ।
२०७९ असोज ३० गते नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले स्थगित गरेको सोलो उडान हालसम्म संचालनको अनुमति नदिदा पोखरामा दैनिक सयौं पर्यटकले गर्दै आएको सोलो उडान हाल स्थगित हुनुले यस क्षेत्रको सहासिक खेल पर्यटनमा समेत ठुलो असर परेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरा पर्यटनको राजधानि घोषणा भएसंगै पोखरा सहासिक खेलकुदको समेत राजधानिको रुपमा रहेको यस क्षेत्रमा विगत दुई दशक देखि संचालन हुदै आएको यस खेललाई तत्काल संचालन गर्न उहाँले माग गर्नु भयो । पोखराको निश्चित स्थानमा निश्चित समयमा उडान गर्न दिनुपर्छ भन्ने माग सहित आफुहरुले क्यान देखि प्रधानमन्त्री समक्ष सोलो उडानलाई पुनः सुचारु गर्न माग गर्दा हालसम्म माग सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो । प्याराग्लाईडिङ दुर्घटनामा परी खेलाडीको मुत्यु भए पश्चात प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान केही समय बन्द गराएको थियो । टेण्डम (यात्रु सहित वा व्यवसायीक) उडानको लागि भने क्यानले केही समय पछि खुल्ला गरेको थियो । पोखरामा हाल व्यवसायीक(टेण्डम) प्याराग्लाईडिङ संचालन हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्