Pokharapatra National Daily

विवाहको रौनकसँगै कमलपोखरी संस्थाको मूल प्रवेशद्धारको उद्घाटन

नव वर्ष २०८१ सुरु । वैशाख महिना विहेको मौसम, दौउरा सुरवाल लगाएर ओहोर दोहर, साथमा दमाह, झ्याली, ट्याङ्को, नरसिंह र सनही लिंदै बाजा घन्किए । पन्चेबाजाको मंगलमय धुनले सबैतिर उल्लासमय र उमङ्मय छायो । बाजाको वरिपरि सुटमा सजिएका महिला पुरुष । अझ वडा नं १३ का जनप्रतिनिधिको दमदार नृत्य ।
जनप्रतिनिधि नाच्न के थाल्नु भयो सवैको आँखा तान्यो । सहभागी सवैको गलामा मखमली माला । यो दृश्य देख्दा अथवा संम्झिदा विवाहका रौनक देखिन्छ । तर त्यो न व्यक्तिको विवाह । कुनै छिमेकीको विवाह, न पुजाआजा, न उत्सव केही थिएन पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण वराल लगायत वडा सदस्य बलवहादुर बराल, सुचिता तामाङ र रजनी परियार र उपस्थित बाक्लो स्थानीय वासीहरुलाई स्वागत गर्न वजाइएको बाजा थियो । पोखरा उपमहानगरपालिका वडा नं १३ स्थित कमलपोखरी मार्ग टोल विकास संस्थाको मूल प्रवेश द्धार बुधबार समुद्घाटन को अवसरमा उपस्थित सवैलाई स्वागत गर्न बजाइएको बाजा हो । उद्घाटन पछि बाक्लिएको उपस्थित सवै संस्थाका आफ्नै भवन अगाडि पन्चेबाजामा छमछमी नाची औपचारिक कार्यक्रम सुरु भयो । कार्यक्रममा मूल प्रवेशद्धार निर्माणार्थ आर्थिक सहयोग गर्नुहुने संस्थाका स्थाई सदस्य एवं शुभचिन्तकहरु ७३ जनालाई सम्मान गरियो । ७३ जना समाजसेवीहरुवाट १२ लाख ८० हजार आठ सय ७५ रुपैयाँ संकलन भएको थियो । प्रमुख अतिथिको आसन ग्रहण गर्न मञ्चमा वडा अध्यक्ष वराल के उक्लिनु भएको थियो सवैको तररर…..तालीले स्वागत । अध्यक्ष वरालले संस्थामा बाबा समुह सँगै आमा समुह बढि सक्रियता देखीएको प्रशंसा गर्नुभयो । १५ दिन भित्र संस्था भित्रको वाटोमा रिसोलिङ गर्ने वोलेको वचन पुरा गर्ने प्रतिवद्धता वरालले दिनुभयो । संस्थाको चौतर्फी विकासको प्रशंसा गर्दै भवनको सवै भन्दा माथि आफ्नो कार्यकालमा ट्रष्ट बनाइदिने वरालले विश्वास दिलाउनु भयो । कमलपोखरी मार्ग टोल विकास संस्थाको आमा समहुको अध्यक्ष पूर्णकुमारी गुरुङले संस्थावाट गरिएको हरेक कार्य विकाश मुखी भएको चर्चा गर्नु भयो । पोखरापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देलले संस्थालाई १० वर्षअघि देखी चिन्दै आएको भन्दै संस्थाका अध्यक्ष इन्द्रवहादुरलाई रामायणका राम र सचिव खड्क वहादुरलाई लक्ष्मण रुपी देखेको चर्चा गर्नु भयो । कमलपोखरी मार्ग टोल विकास संस्थाका अध्यक्ष सु. इन्द्रवहादुर गुरुङ टोल सुधार समितिको नाममा २०४८ सालदेखी टोलमा कार्य गर्दा देखी आवद्ध भइ आज सम्म निश्वार्थ रुपले रातदिन लागि परेको भन्नु भयो । सवै सदस्यहरुको माया ममताले आज यहाँ सम्म आइपुगेकोले उपस्थित सवैलाई हृदयदेखी धन्यवाद दिनु भयो । उता संस्थाका सचिव खड्क वहादुर गुरुङको प्रत्येक वाक्यमा साहित्यको बाणी ।
त्यही वाणीहरु खस्न नपाउँदै दर्शकहरु साहित्य प्रेमी सर्जकरुपी वनि ताली बजाउन व्यस्त । कार्यक्रम अवधि भरी हँसाउँदै व्यस्त संचालक खड्कवहादुर । कार्यक्रममा कमलपोखरी मार्ग टोल विकास संस्थाका उपाध्यक्ष सु.प्रेमवहादुर गुरुङले स्वागत गर्दैै आफ्नो टोलमा अझै कार्य गर्न वाँकी रहेकोमा अध्यक्ष वराललाई ध्यान आर्कषण गराउनु भयो । कार्यक्रममा मूल प्रवेश द्धार निर्माणमा उल्लेखनीय सहयोग गर्ने सुनिल गुरुङलाई सम्मान गरियो । उद्घाटन समारोहमा संस्थाका सदस्य तथा छिमेकी टोल विकास सस्थाका सदस्यहरुको उत्कृष्ट नुत्यले सहभागी सवैलाई मन्त्रमुग्ध बनाएको थियो ।

प्रतिकृया दिनुहोस्