Pokharapatra National Daily

आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई पुनः १० बर्ष हिमश्री फुडसको साथ

पोखराको घराना समुहको हिमश्री फुडस प्रा.लि.ले आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई सफल बनाउन पुनः १० बर्ष साथ दिने भएको छ ।
पोखराको सहारा क्लवले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई भव्य र सभ्य रुपमा संचालन गर्न आहा रारा चाउचाउको उत्पादन हिमश्री फुड्सले आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई आगामी १० बर्षको लागि तेश्रो पटक साथ दिने भएको हो ।
क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) र हिमश्री फुड्स प्रा.लि.का अध्यक्ष प्रेम कुमारी केसी बिच मंगलबार पोखरामा आयोजित एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सहारा क्लवलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.ले बार्षिक रुपमा आगामी पहिलो ३ बर्ष १८ लाख, दोश्रो ३ बर्ष २१ लाख, तेश्रो ३ बर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको क्लवले जनाएको छ । हिमश्री फ्ड्सले यस अघि दुई पटक सम्म उक्त प्रतियोगितालाई १०÷१० बर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ ।
समाजसेवी उधोगपति एवं पूर्व सांसद सुर्य बहादुर केसीको बिषेश पहलमा २०५९ सालमा आहा गोल्ड कपबाट १० बर्ष सम्झौता भएको थियो भने २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहा रारा गोल्ड कप नमाङकरण गरी १० बर्ष करार सम्झौता भएको थियो । यस बर्षको २२ औं आहा रारा पोखरा गोल्ड कप पुष १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उक्त प्रतियोगिताबाट बचत हुने रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषणामा खर्चिदै आएको क्लवका बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए ।
हिमश्री फुड्स प्रा.लि.का निर्देशक किरण केसीले आफ्ना बाबु सुर्य बहादुर केसीको सपना अनुसार खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा राखेप सदस्य राजेश कुमार गुरुङले क्लवले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकोले उक्त प्रतियोगिता संचालन गर्दा पोखरा रंगशाला न्यूनतम सरसफाई शुल्क बाहेक अन्य शुल्क लिन नमिल्ने बताए ।
क्लवका अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, पत्रकार महासंघका पूर्व सदस्य रामकृष्ण ज्ञवाली लगायतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस्